तालिवानद्वारा पत्रकारहरूमाथि आक्रमण



काबुल ।
काबुलमा महिला अधिकारकर्मीहरूले गरेको प्रदर्शनको मिडिया कभरेज रोक्न तालिबानले बिहीबार पत्रकारहरूमाथि आक्रमण गरेको छ । शिक्षा मन्त्रालयको नजिकबाट अफगानिस्तानको राजधानीमा अवस्थित अर्थ मन्त्रालयसम्म रंगीन हेड स्कार्फ लगाएका महिलाहरूको एउटा समूहले मार्चपास गर्दै शिक्षालाई राजनीतिकरण नगर्न भन्दै नारा लगाएको थियो ।
"हामीसँग अध्ययन गर्ने र काम गर्ने अधिकार छैन र बेरोजगारी, गरीबी, भोकले सताएको छ," भन्ने लेखिएको प्लेकार्ड ती महिलाहरू बोकेका थिए । तालिबान अधिकारीहरूले ती महिलालाई करिब १ घण्टा ३० मिनेटसम्म स्वतन्त्र रुपमा हिँड्न दिएको एएफपी जानकारी दिएको छ ।
तालिबान लडाकूहरूले विदेशी पत्रकारलाई राइफल प्रहार गर्नुको साथै फोटोग्राफरलाई पछाडिबाट लात हानेका बताइएको छ ।
प्रदर्शनकारी आयोजक मध्येकी एक जाहरा मोहम्मदीकाअनुसार महिलाहरू जोखिमको बाबजुद मार्चपास गर्दै थिए । तालिबानहरूले स्थानीय पत्रकार, विदेशी पत्रकार र महिलाहरू कसैको पनि सम्मान नगरेको उनले बताएकी छिन् । महिलाहरूको विद्यालय जाने अधिकारसमेत तालिबानहरूले खोसेको पनि उनले बताएकी छिन् । रासस/एएफपी(बाह्रखरी)