प्रधानन्यायाधीशलाई राजीनामा दिन १४ न्यायाधीशको आग्रह



काठमाडौं ।
प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालनका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
सोमबार बसेको १४ जना न्यायाधीशको छुट्टै बैठकले मंगलबार प्रधानन्यायधीशलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी एक न्यायाधीशले बताए । मार्ग प्रशस्त गर्ने आग्रह गर्ने निर्णय गरे पनि उनीहरुले मार्ग प्रशस्त भन्नुको अर्थ खुलाएका छैनन् ।
उनीहरुले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विषय उठाउन सक्ने बुझिएको छ । उनीहरूले मंगलबार प्रधानन्यायाधीशसँग भेटेर राय मागेपछि मात्र थप कदम चाल्ने समेत निर्णय गरेको हो ।
प्रधानन्यायाधीश जबराले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका थिए । तर, १४ जना न्यायाधीशले भने आइतबार नै प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुलकोर्ट बहिस्कार गर्ने निर्णय गरिसकेका छन् । न्यायाधीशहरुले बैठक बहिस्कार गरेकै कारण आजको फुलकोर्टसमेत प्रभावित भएको छ । दृष्टि