अफगानिस्तानलाई हराउदै टी-२० विश्वकपमा भारतको पहिलो जित



काठमाडौं ।
युएईमा भइरहेको आईसीसी टी-२० विश्वकपमा भारतले पहिलो जित हात पारेको छ । विश्वकप अन्तर्गत बुधबार भएको सुपर १२ को खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले हराएको हो ।
जितपछि भारत तीन खेलबाट दुई अंक जोड्दै चौथो स्थानमा उक्लेको छ । यसअघि पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले पहिलो जितपछि अंकको खाता खोलेको हो । पहिलो जितपछि भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ ।
चार खेलमा दोस्रो हार बेहोरेको अफगानिस्तान चार अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तानले अब न्युजिल्याण्डसँग खेल्न भने बाँकी छ ।
भारतले दिएको २११ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएका थियो । अफगानिस्तानका लागि करिम जन्नतले अविजित रहँदै सर्वाधिक ४२ रन बनाए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान मोहम्मद नावीले ३५ रन जोडे ।
भारतका मोहम्मद शामीले तीन, रवीचन्द्रन आश्विनले दुई तथा जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक(एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले रोहित शर्मा र केएल राहुलको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर २१० रन बनाएको थियो । पहिलो विकेटका लागि रोहित र राहुलले १४० रनको साझेदारी गरेका थिए ।