माओवादी केन्द्रले पहिचानको मुद्दा छाडेको छैन : प्रचण्ड
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पारेका छन् ।
नेपाल संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको भन्दै माओवादीले पहिचानको मुद्धा नछोडेको बताएका हुन् ।
‘पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ’, उनले भने ।
मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशीविदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै उहाँले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको प्रचण्डको भनाइ रहेको छ ।
‘माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त गर्यौं’, उनले भने ।
देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताए ।
‘हामीले फेरि एकपटक उत्पीडित वर्ग समुदायका मुद्दा र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाइछाड्ने सङ्कल्प गरेका छौँ’, उनले भने, ‘त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।’
पार्टीले जिम्मेवारी लिएको मन्त्रालयकातर्फबाट जनतालाई राहत दिइएको जानकारी दिँदै जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको बताए । दृष्टि