देउवा र प्रचण्डबीच भेटवार्ता, निर्वाचन र एमसीसीबारे छलफल
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा आसन्न निर्वाचन, एमसीसीलगायत समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।
इतबार मात्रै प्रधानमन्त्रीले एमसीसी पास नगरे फिर्ता जाने र गठबन्धन टुट्ने जस्ता अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री देउवाको उक्त भनाइकै कारण अहिले सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस भइरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन् । यसै विषयमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शसमेत गरेका छन् ।