कांग्रेसका १० भ्रातृ संस्था भंग



काठमाडौं ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालयमा मंगलबार बसेको समितिको बैठकले म्याद सकिँदा पनि भ्रातृ संस्था अधिवेशन गर्न नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । तदर्थ समिति गठनको अधिकार भने सभापति शेरबहादुर देउवालाई दिइएको छ ।
प्रवक्ता प्रकाशशरण महतले म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिइएको जानकारी दिए ।
उनका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो ।