सत्तारुढ दल निर्वाचन सार्ने खेलमा लागे : प्रदीप ज्ञवाली



काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ दलहरूले स्थानीय तहको निर्वाचन पर धकेल्ने बहाना स्वरूप प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’को कुरा अघि सारेको आरोप लगाएका छन् ।
नुवाकोटको विदुरमा आज प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा उनले भने– ‘स्थानीय तहको निर्वाचन लगत्तै प्रतिनिधिसभाको निर्वाचन जुनसुकै बेलामा गरे पनि एमाले सामना गर्न तयार छ ।’
सरकारले भयरहित निर्वाचनको वातावरण बनाउन आनाकानी गरिरहेको टिप्पणी गर्दै एमाले नेता ज्ञवालीले सरकारमा रहेका दलहरूले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई अनावश्यक रुपमा गिजोलेर भूराजनीतिक विषय बनाएको आरोप लगाए ।