बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बिक्री खुला



काठमाडौं ।
बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुल्ला गरेको हो ।
कम्पनीले आफ्नो जारी पूँजी (रु एक अर्ब) को १० प्रतिशतले हुने रु १०० अङ्कित दरका १० लाख कित्ता शेयरमध्ये आयोजनाको मुख्य संरचना क्षेत्रमा पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका–८ र ९का बासिन्दाका लागि सात लाख कित्ता शेयर सुरक्षित गरेको छ । साथै बाँकी तीन लाख कित्ता शेयर क्व्होलासोथार र मादी गाउँपालिकाका अन्य वडाका बासिन्दाहरुलाई छुट्याइएको कम्पनीले जनाएको छ ।
सार्वजनिक आह्वान पत्रानुसार आयोजना आसपास क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले आजदेखि यही बैशाख २५ सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे आगामी जेठ ९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा ‘रुदी ए आठ दशमलव आठ मेगावाट‘ र ‘रुदी बी छ दशमलव छ मेगावाट‘ क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ ।
स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै सानिमा बैंकको कास्की जिल्लामा रहेको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको लमजुङको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेशीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशीशहर शाखा र आयोजनाको कार्यलयस्थलबाट आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरनपी–आईआर बीबी प्लस ईस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।