‘के मिर्गौलारोगीहरु बाँच्न प्रधानमन्त्री नै हुनुपर्ने हो?’



शुक्रबार बिहान १०ः३९ बजे ‘कमेडियन’ आदर्श मिश्रको ट्विटरमा एउटा भिडियो अपलोड भएको छ। भिडियोको शीर्षकमा उनले लेखेका छन्, ‘कसलाई भनिराछु, थाहा छैन, तर भनिराछु।’
मिश्रले उक्त भिडियोमा सुरक्षार्मीले गरेको दुर्व्यवहारबाट भएको असहजताको बारेमा बोलेका छन्। उनले वीरगञ्जको नेशनल मेडिकल कलेज ‘एनएमसी’मा बुवा विनोद मिश्रलाई नियमित डाइलासिस गरेर घर फर्कने क्रममा बाटोमा प्रहरीले दुर्व्यवहा। गरेको बताएका छन्।
मिश्रका अनुसार सातामा दुईपल्ट नियमित डाइलासिसको लागि उनका बुवालाई एनएमसीमा लैजाने गरेको छ। शुक्रबार डायलासिस गरेर फर्केने क्रममा बाटोमा प्रहरीले आफूलाई डायलासिस भनेको थाहा नभएको र बिरामी भए एम्बुलेन्समा चढेर अस्पताल आउजाउ गर्नुपर्ने भन्दै अभद्र व्यवहार गरेको बताएका छन्।
उनका बुवा बिनोद मिश्र शिक्षक हुन्। मिश्रका अनुसार घर फर्किसकेपछि बुवाले प्रहरीले गरेको व्यवहार सम्झिएर कापीमा आफूलाई परेको समस्या लेखेका थिए। बिनोदले लेखेको उक्त कुरा फेसबुकमा राखिएको छ ।
उनको पोस्टमा भनिएको छ, ‘प्रहरीलाई अस्पतालको कार्ड देखाउँदा ‘डाइलासिस’ बुझ्दिन, जताबाट आएको हो उतै फर्क नत्र एम्बुलेस्नमा जाने गर (भन्यो)।’
उनले आफू महिनाको ८ पल्ट अस्पताल जानुपर्ने र एम्बुलेन्समा जाँदामात्र त्यसको खर्च २४ हजार हुने बताएका छन्।
बिनोद सामान्य शिक्षक भएकाले यस्तो संकट कालमा यतिका खर्च बेहोर्न नसकिने बताएका छन्। त्यसैले खर्च सहुलियतको लागि परिवारकै सदस्यको सहयोगमा बाइकमा अस्पताल जाने गरेकोमा प्रहरीले यस्तो व्यवहार गरेको उनले बताएका छन्। उनले प्रश्न गर्दै भनेका छन्, ‘भन्नुस सरकार हामीलाई बाँच्ने अधिकार छ कि छैन ?’
आदर्शले भिडियोमा प्रहरीलाई भनेका छन्, ‘हेर्नुस् दाइ डाइलासिस भनेको हाम्रो देशका प्रधानमन्त्रीले दोस्रो पल्ट मृगौला फेर्नु अगाडि जे गर्नुहुन्थ्यो बाँच्नको लागि त्यो। तपाई बुझ्न सक्नुहुन्न, तर त्यो चाहिने कुरा हो मान्छेलाई। गुट्का, पान पराग वा रजनी गन्धा हैन। डाइलासिस चाहिन्छ।’
उनी झोँकिएर सोधेका छन्, ‘मृगौला रोगीहरु बाँच्न प्रधानमन्त्री हुनुपर्ने हो ? दुई तिहाईको सरकार हुनुपर्ने हो र ? कि त्यसपछि मात्र तपाई बाँच्न पाउनुहुन्छ । म बुझ्दिन।’
उनले बिहान स्कुटरमा जाँदा केही नभनिएको र फर्कदा ‘नियम परिवर्तन भयो’ भनि ‘जताबाट आएको उतै जाऊ’ भनेको बताएका छन्। उनले भनेका छन्, ‘हामी बाटोमा बस्ने ?’ एम्बुलेन्सले एक पल्टमा १५ सय तिरेर मात्रै अस्पताल लैजाने गरेको उल्लेख गर्दै एक महिनामा २४ हजार भाडा मात्रै लाग्ने भएपछि यसरी उपचार गर्न नसकिने बताएका छन्। उनले प्रहरीले कुरा नसुनेको भन्दै गुनासो पोखेका छन्।
‘हाम्रो लागि खटिएको हो, तर कति पेल्ने हामीलाई ? सोधपुछ गर्ने हो नि,’ मिश्र भन्छन्, ‘घरमै बसेर डायलासिस नगर्ने? स्वास्थ्य अवस्था बिग्रने बेलासम्म कुर्ने ? चुरोट खान निस्किएको हो ?’
मिश्रले खाद्यान्न बोकेको गाडी पास गर्न प्रहरीले रकम लिने गरेको आरोप पनि लगाएर भनेका छन्, ‘दादगिरी गर्न मिल्छ ? के गरेको हो यो ?’
उनले अन्त्यमा ७० रुपैयाँको प्यारासिटामोल किन्नलाई १५ सय तिरेर एम्बुलेन्समा जानुपर्ने अवस्था भए कसरी हुन्छ भनेर सोधेका छन्।
मिश्र लामो समयदेखि हाँस्य व्यंग्य क्षेत्रमा सक्रिय छन्। व्यंग्यात्मक पेज ‘मिम नेपाल’ का उनी सञ्चालक हुन्। हालै मात्र प्रशारित टेलिभिजन कार्यक्रम ‘कमेडी च्याम्पियन्स’ मा उनी पनि सहभागी थिए।
देश सञ्चारबाट साभार