करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु: हर्क साम्पाङ
सुनसरी ।
ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् । उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका हुन् । ‘म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु, किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उनले भनेका छन् ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नम्बर वितरण गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला (९८१९०१२३७१ र ९७४६९६५१९८), तपाईको सेवक, जय धरान’, उनले भनेका छन् । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को १ ज ६४० नम्बरको आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ ।
चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । ‘हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौँ, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो’, अधिकृत खतिवडाले भने । मङ्गलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने प्रमुखमा विजयी हुने बित्तिकै उनले घोषणा गरेका थिए ।
प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक सङ्घ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइए दिन आग्रह समेत गरेका छन् । लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मङ्गलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको भनाइ छ ।