आजबाट मतदाता नामावली दर्ता खुला



काठमाडौं ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार आजबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न सक्नेछन् । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेछ ।
यसैगरी, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोवास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् । ‘७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था गरेको छ ।
आफ्नो स्थायी ठेगानाभन्दा बाहिर बसोबास रहेकाहरूले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन्,’ आयोगका सूचना अधिकारी अर्यालले भने । यसरी दर्ता गरिने नामावलीलाई भने आयोगले मतदाताको स्थायी ठेगाना रहेको जिल्लामा नै प्रणालीमार्फत पठाउनेछ ।
आयोगले १६ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न योग्य मान्दै आएको छ भने मतदानका लागि तोकिएको मितिमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसैगरी, पहिले दर्ता कायम भएका तर नामावलीमा त्रुटि भएकाले स्थायी ठेगाना भएका जिल्ला निर्वाचन कार्यालय गएर सच्याउन सक्नेछन् ।
त्यसका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालय नै जानुपर्नेछ । अथवा आयोगले इमेलमार्फत् पनि त्रुटि सच्याउन सकिने व्यवस्था गरेको छ । राजधानी दैनिक बाट