समाजवादी केन्द्र बन्दैन : प्रचण्ड



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी केन्द्रको निर्माण विषयमा कुनै छलफल नभएको बताएका छन् ।
शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही व्यक्तिहरुले समाजवादी केन्द्र बनाउने विषयमा छलफल गरेतापनि माओवादी केन्द्रले त्यस विषयमा छलफल नगरेको जानकारी दिए ।
अहिलेको अवस्थामा वर्तमान गठबन्धनसँगै रहेर आगामी निर्वाचनमा जाने र अहिले गठबन्धनको विकल्प नरहेको उनले बताए । उनले भने, प्रचण्डले भने, ‘यो गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला । यही गठबन्धनबाट शान्ति प्रक्रिया टुंग्याउने हो ।’
उनले स्थानीय चुनावको अनुभव भने त्यति मीठो नभएको बताए । ‘नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो छ । त्यसैले स्वतः नेतृत्व कांग्रेसको हुने भयो । तर, लोकल इलेक्सनको अनुभव त्यति धेरै मीठो भएको छैन । प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ जानुपर्छ ।’