बांकेमा मोहर्रमको अवसरमा सार्वजनिक बिदा



बाँके ।
बाँकेका २ पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।
नरैनापुर र जानकी गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका हुन् । नरैनापुरका अध्यक्ष इस्तियाक अहमद साहले गाउँपालिकामा हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको र सबै समुदायले यस दिनलाई सद्भाव पर्वका रूपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
सोमबार बसेको कार्यपालिकाको बैठकले मोहर्रम पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकीका अध्यक्ष छब्बन खाँले बताए । यस्तै नेपालगञ्ज उपमहानगरले मोहर्रमका अवसरमा एक दिन विद्यालय बन्द गरेको छ ।
स्थानीय पर्व बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार सो बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए । सो पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने गर्छन् ।
मोहर्रम विश्वभरि नै विभिन्न तरिकाले मनाइने गरिएको मोहर्रम पर्व व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारशीले जानकारी दिए ।