आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान



काठमाडौं ।
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका १० अर्ब खर्च हुने अनुमान आयोगले गरेको छ ।
आइतबार निर्वाचन आयोगले सम्पादकहरुसँगको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित खर्च १० अर्ब हुने बताए ।
आगामी निर्वाचनमा कुल मतदाता करिब १ करोड ८२ लाख रहेको पनि निर्वाचन आयोगले जनाएको छ । मतदानस्थल करिब १० लाख ८२५ र मतदान केन्द्र अस्थायीबाहेक करिब २२ हजार ५०० रहेको आयोगले जानकारी दिएको छ ।
यस्तै, आयोगका प्रमुख आयुक्त थपलियाले गत स्थानीय तहको निर्वाचनमा काठमाडौ र पोखरा जस्ता ठाँउमा अत्यधिक मत बदर भएको बताए । उनले शिक्षित मतदाता रहेका ठाँउमा पनि धेरै मत बदर भएको भन्दै साक्षरता दर धेरै भएको ठाउँ पनि मत बदर भएकोमा छक्क परेको बताए ।
‘काठमाडौंमा सचेतना नभएर मत बदर भएको हो वा विद्रोही गरेर मत बदर भएको हो ? हामी छक्क परेका छौं’ उनले भने, ‘काठमाडौ जस्तो ठाँउमा पोखरामा अत्यधिक मत बदर भएको छ । डिजिटल माध्यमबाट मतदाता शिक्षा पद्धतिलाई फेर्नुपर्ने हो कि भन्ने लागेको छ ।’
आयोगले मतदाता शिक्षा कसरी गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा सुझाव मागेको छ । प्रमुख आयुक्त थपलियाले मतदाता शिक्षाका लागि विविधता युक्त सामग्री तयारी, प्रकाशन एवम् प्रशारण विद्युतीय माध्यमको प्रयोगमा विशेष जोड दिने बताए ।