जलयात्रामा सहरी विकासमन्त्री चौधरी
काठमाडौं ।
नेपाल र्याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार थापाथलीदेखि सुन्दरीघाटसम्म जलयात्रा आयोजना गरेको छ ।
उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यसहित नाराले शनिबार जलयात्रा आयोजना गरेको हो ।
बागमती नदीको पुरानै प्राकृतिक सुन्दरता फर्काउने उद्देश्य राखेर शनिबार बिहान आयोजना गरिएको जलयात्रामा १२ वटा ¥याफ्टिङ र दुईवटा कायक सहभागी थिए । जलयात्र साढे ५ किलोमिटरसम्म गरिएको थियो ।
जल यात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।
सामाजिक सभ्यता र धार्मिक पक्षसँग जोडिएको बागमती नदीमा प्रदूषण गर्ने क्रम वृद्धि भएसँगै नाराले सन् २००१ देखि हरेक वर्ष मनसुनी याममा जलयात्रा महोत्सव गर्दै आएको छ ।
जलयात्रा गरेपछि सहरी विकासमन्त्री चौधरीले भने, ‘बागमती नदी उपत्यकाको सौन्दर्यको धरोहर हो । यसलाई सफा राख्न जरुरी छ ।’ उनले बागमतीलगायत उपत्यकाभित्र बग्ने नदीहरुको संरक्षण गर्न आवश्यक रहेको बताए ।