अध्यादेशबाट काम चलाउँदै बागमती सरकार



हेटौंडा ।
बागमती सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेर अध्यादेशबाट काम चलाउन थालेको छ ।
२ सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ । साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो ।
अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद् अधिवेशन नै अन्त्य गरेर पुनः जारी गरेको हो ।
कात्तिकमा राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बनेको गठबन्धन सरकारले पाँच महिनाको अवधिमा सात अध्यादेश जारी गरिसकेको छ ।
प्रदेश सरकार स्थापना कालदेखि साढे ४ वर्षको अवधिमा जम्मा १० अध्यादेश जारी भएका छन् ।