सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सिट बाँडफाँटमा सहमति जुटाउन सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन ।
गठबन्धनका सिर्ष नेता सिट बाँडफाँडको सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि कुन पार्टीले कति सिट लिने भन्ने विषयमा सहमति जुट्न नसक्दा अन्योलता बढेको छ ।
सरकारले मंसिर ४ गते संघ र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि सबै राजनैतिक दल र निर्वाचन आयोग लगायत चुनावको तयारीमा जुटेको छ ।