काठमाडौंमा डेंगुका बिरामी बढे



काठमाडौं ।
काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा डेंगुको प्रकोप बढी हुने गरेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ३ महिनादेखि हालसम्म देशभर १ हजार ९ सय २३ जनामा डेंगु पुष्टि भइसकेको छ ।
उपत्यकाको ललितपुरमा सबैभन्दा धेरै डेंगु संक्रमित रहेका छन् । ललितपुरमा ५ सय २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २ सय १९ र भक्तपुरमा ३५ जनामा डेंगु फैलिसकेको छ ।
कात्तिक महिनासम्म यसका बिरामी बढ्ने जोखिम हुन्छ । लामखुट्टेले यो रोग सार्ने हुँदा लामखुट्टेका लार्भा हुर्कन सक्ने स्थान सफा राख्न मन्त्रालयले आग्रह गरेको छ ।
डेंगु एडिस एजिप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् ।
यो रोग निको हुन २ देखि ७ दिनसम्म लाग्छ ।