समानुपातिक उम्मेदवारी दर्ता आजबाट



काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि निवेदन दर्ता गराउने भएको छ ।
निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ ।
निर्वाचन प्रयोजनका लागि प्रत्यक्ष तर्फबाट भागलिन आयोगले गत साउन २२ देखि ३१ गते सम्म दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ।
एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने छन्। दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेशसभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ ।