चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु
दाङ ।
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन्।
घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन।
बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए। ‘वडाअध्यक्षमार्फत् हामीकहाँ घटनाको बारेमा जानकारी आयो।
हामीले प्रहरीलाई त्यस तर्फ पठाएका छौँ’, डिएसपी गौतमले भने, ‘प्रहरी घटनास्थलबाट फर्किएपछि थप विवरण आउँछ।’