डेंगीको संक्रमण ७२ जिल्लामा फैलियो



काठमाडौं ।
डेंगीको संक्रमण ७२ जिल्लामा फैलिएको पुष्टि भएको छ । अझै २ महिना डेंगीको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन् ।
गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगीको संक्रमण धेरै बढेको पाइएको थियो । यसपालि असोज महिना नलाग्दै डेंगीको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताए ।
हालसम्म ३ हजार २ सय २७ जनामा डेंगी पुष्टि भएको महाशाखाको तथ्यांक छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगी फैलिएको छ । यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगी भएको छ ।
घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाइ, सचेतनाको अभावका कारण डेंगी बढेको जाजरकोट अस्पतालका निर्देशक डा. दीपक पुनले बताए ।
डेंगी गराउने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने उनको भनाइ छ ।