समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक



काठमाडौँ ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ ।
आयोगले सो प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आज दलहरुलाई आग्रह गरेको छ ।
आयोगको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ति जारी गरेर कागजात अपुग भएका सूची दर्ता नहुने स्पष्ट गर्दै आवश्यक प्रक्रिया र कागजातको चेकलिष्ट आयोगको वेबसाइटमा समावेश गरिएको बताएका छन् ।
उक्त प्रणालीतर्फको बन्दसूचीमाथि आयोगले जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म दलहरुलाई आग्रह गर्नेछ । आयोगको सुझावबमोजिम दलहरुले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्नुपर्नेछ ।
आयोगले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।