कतारसँग नेपाल पराजित



काठमाडौं ।
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युथ टोलीले लगातार दोस्रो हार बेहोरेको छ ।
लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बलियो कतारविरुद्ध नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो । दोस्रो हाफमा एक गोल खाँदा नेपालले एक गोल उपहार पाएको थियो ।
खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारलाई २–० को अग्रता दिलाए ।
६०औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए । त्यसपछि ७६औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरेपनि कतार ३–१ ले विजयी भयो ।
यस जितसँगै कतारले ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार बेहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ’बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।
यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन् । अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग आइतबार खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।