
कार्यालय समयमा नपुग्ने डाक्टरलाई अस्पताल प्रवेशमा रोक



नेपालगन्ज ।
बाँकेको खजुरामा अवस्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालले कार्यालय समयभित्र अस्पताल नपुग्ने केही डाक्टरहरुलाई अस्पताल परिसर प्रवेशमा रोक लगाइएको छ । सोमवार भएको निर्णयलाई बेवस्था गर्दै मंगलबार अस्पतालमा ढिलोगरी पुगेका चार जना डाक्टर प्रविण गुप्ता, डा. मुकेश यादव, डा.आचल शाही, डा.नम्रता भट्टराई, स्टाफ नर्स रन्जिता ढुङ्गाना लगायत स्वास्थ्यकर्मिलाई शुरक्षागार्डले कार्यालय समयभन्दा ढिला गरी पुगेको भन्दै प्रवेशमा रोक लगाएका हुन् ।
शुरक्षा गार्डले अस्पताल परिसरमा प्रवेशमा रोक लगाएपछि डाक्टर र अन्य स्वास्थ्यकर्मिहरुले गेटमा केहीबेर विवाद गरेका थिए । शुरक्षा गार्डलाई डाक्टरहरुले हप्काएको र पछि अस्पतालका मेसु डा. कृष्ण आचार्य लिन आउदाँ समेत जान नमानेको अस्पताल स्रोतले बताएको छ ।
अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लको समितिले सोमबार १० देखि ४ बजेसम्म डिउटिमा रहनुपर्ने र उक्त निर्णय कार्यान्वयन गराउन अस्पताल प्रशासनले मंगलबार शुरक्षा गार्डलाई निर्देशन दिएको थियो । अस्पतालका सुरक्षा गार्डले समितिको निर्णय र निर्देशन पालना गरेकोमा चिकित्सकहरुले आफ्नो अपमान भएको गुनासो गरेका छन ।
अस्पतालका नव नियुक्त अध्यक्ष मल्लले अस्पताल विकास समितिमा नियुक्त भएपछि अस्पताल सुधारका लागि लागिपरेको र त्यसकै एक कदमका रुपमा कार्यालय समय पालनाको निर्णय गरिएको बताए । उनले स्वास्थ्यकर्मीहरु कार्यलय समयभित्र आइपुगेमा मात्र सेवाग्राहीले चाडो सेवा पाउने बताए ।
शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत केही चिकित्सकहरु आफुखुसी ढिला गरी अस्पताल आउने र चाडो जाने गरेको स्थानिय साथै सेवाग्राहीले पटक पटक गुनासो समेत गरेका थिए ।
डा. प्रविण गुप्ताले भने आफूहरुलाई १५/२० मिनेटमा ढिला पुग्दा पनि गेटमै हप्काएको र अपमान गरिएको भन्दै आपत्ति जनाए । सोमबार मात्र अस्पताल विकास समितिले सम्पूर्ण कर्मचारीहरु ड्रेस, आइडी कार्डसहित १० बजे नै कार्यालय आइपुग्नुपर्नेसमेत निर्णय गरेको थियो । उक्त निर्णयको भने सबैले तारिफ समेत गरेका छन ।
