समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि
काठमाडौं ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रक्रिया आजबाट सुरु भएको छ । प्रतिनिधिसभाकाे पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि आजबाट नयाँ निर्वाचन प्रक्रिया सुरु भएको हो ।
निर्वाचन आयोगले राजनीतिक दलहरुलाई असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका प्रस्तुत गरेको छ । निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।
दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।