चोरको निसानामा एटिएम मेसिन



पोखरा ।
पछिल्ला दिनहरुमा पोखराको एटिएम मेसिन असुरक्षित हुँदै गएको छ । दिनहुँजसो एटिएम मेसिन फोडिन्छ ।
सोमबार र मंगलबार लगातार २ वटा बैंकका एटिएम मेसिन फुटाउन प्रयास गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
सोमबार पोखरा ९ मा रहेको कृषि विकास बैंकको एटिएम फुटाएरु नगद चोर्दै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको हो । मेसिन फुटाएर पैसा चोरिरहेको सूचना प्रहरीले पाएपछि तत्कालै पक्राउ गरिएको हो ।
उक्त घटनामा पोखरा १६ बस्ने २२ वर्षका सन्दिप बस्नेत र १९ वर्षका अनिस रानामगर पक्राउ परेका छन् । उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए ।
यस्तै, मंगलबार राती पोखरा ६ लेकसाइडमा रहेको एनएमवी बैंकको एटिएम फुटाउन लागेको अवस्थामा प्रहरीले अर्का एकजनालाई पक्राउ गरेको छ । खुकुरीले मेसिन फुटाएर पैसा चोरी गर्न लागेको अवस्थामा धादिङको त्रिपुरा सुन्दरी १ घर भइ पोखरा ८ बस्दै आएका २५ वर्षीय मनोज कुमाल पक्राउ परेका हुन् । उनलाई पनि कास्की अदालतबाट ७ दिन म्याद थपेर अनुसन्धान थालिएको छ ।
कास्कीमा हरेक महिना एटिएम फुटाउने घटना बढिरहेको छ । अहिले चोरको निसानामा बैंकका एटिएम परेका छन् ।