ट्रकले कुल्चिदा मोटरसाइकलमा सवार साहको घटनास्थलमै मृत्यु



चितवन ।
मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा खसेका व्यक्तिको ट्रकले कुल्चेर घटनास्थलमा नै मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले कुल्चेर भरतपुर–२ बस्ने १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मृत्यु भएको हो ।
बिहीबार साँझ ६ः५० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल पछाडि सवार साह सडकमा खसेका थिए । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५५ नम्बरको ट्रकले सडकमा खसेका साहलाई कुल्चिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
मोटरसाइकल चालक भरतपुर–२ बस्ने ३० वर्षीय अकवर साह भने सकुशल रहेको उनले बताए । ट्रक र ट्रक चालक स्याङजा गल्याङ नगरपालिका–८ बस्ने ३२ वर्षीय अर्जुन पचभैया मगरलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।