किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिइने



बुटवल ।
बुटवल उपमहानगरपालिकाले यहाँका किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले ५२ किसानलाई मागमा आधारित प्रोत्साहन अनुदान दिने निर्णय गरेको हो ।
स्थानीय कृषि व्यवसाय प्रवद्र्धन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख खेलराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले माग भएर आएका ५२ जनाकै माग स्वीकृत गरेको हो । उपमहानगरका वडा नं ११ देखि १९ सम्मका किसानका लागि लक्षित गरी आह्वान गरिएको माग, योजना र प्रस्ताव हेरेर अनुगमनका आधारमा किसानलाई अनुदान दिने निर्णय गरिएको नगरप्रमुख पाण्डेयले बताए ।
ती वडामा खेती किसानी गर्ने किसान, फर्म र संस्थाले पेस गरेको मागअनुसार रु १० हजारदेखि रु एक लाख २० हजारसम्मको अनुदान दिने निर्णय गरिएको उनले बताए । निर्णयानुसार एक महिनाभित्रमा किसान, फर्म र संस्थालाई सम्झौताका लागि आह्वान गर्ने र कार्यक्रम सम्पन्न भएपछि वडाको सिफारिसका आधारमा अनुदान रकम उपलब्ध गराइने कृषि विकास शाखाप्रमुख सन्तोष जिसीले जानकारी दिए ।
किसान तथा फर्म र संस्थाले तरकारी, केरा, फुल, लसुन, कुरिलो, बेसार, तोरी, मौरीपालन, कन्ये च्याउ, ड्रागन फलफूल, मकैलगायतका खेती गर्नका लागि योजना तथा प्रस्ताव पेश गरेको कृषि विकास शाखाप्रमुख जिसीले बताए ।