हेटौंडा बस दुर्घटना: २ जनाको मृत्यु, ३७ घाइते
हेटौडा ।
हेटौंडाको चुरियामाईमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम सडक खण्डमा अन्तर्गत पर्ने हेटौडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा बस अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको हो भने अन्य ३७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताए । काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना७ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा घाइते भएका ३७ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौँ र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।