दशगजामा सशस्त्र प्रहरीको टोलीद्धारा हवाई फायर



अनिश यादव
सर्लाही १८ जेठ ।
३०–४० जना भारतीय नागरिकहरुको समूह दशगजा हुदै जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको र हुलहुज्जत गरी हतियार समेत खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले वताएको छ ।
त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लागेका थिए । उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोक्यो ।
त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई ल्याएर आए । ‘आज विहान करिब ६ बजेतिर त्यो समूहले हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेपछि हवाई फायर गरेर भगाइयो,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।
हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए ।