यसपटकको विश्वकप मेरो अन्तिम हो: मेसी



एजेन्सी ।
लियोनल मेसीले नोभेम्बरमा कतारमा हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने टिप्पणी गरेका छन् । ३५ वर्षीय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलेका छन् ।
मेसीले ६ गोल गरेका छन् भने पाँच गोलमा सहयोगी भूमिका खेलेका छन् । यस क्रममा उनले विश्वकपका १९ खेल खेले । ईएसपीएनसँग शुक्रबार भएको विशेष अन्तर्वार्तामा उनले भनेका छन्, ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो ।’
‘म अहिले विश्वकपको प्रतीक्षामा छु । म केही आँत्तिएको पनि छु र दबाब पनि महसुस गरिरहेको छु । म विश्वकपमा खेल्न चाहन्छु । त्यसमा के हुनेछ, कस्तो हुनेछ, त्यसको पर्खाइमा समेत छु’, मेसीले भनेका छन् ।
उनले थपेका छन्, ‘विश्वकपमा सबैखाले सम्भावना हुन्छ । सबै खेल उत्तिकै कठिन पनि हुने गर्छन् । जुन टिम उपाधि जित्नका लागि बलियो दाबेदार हुन्छ, उसकै प्रदर्शन खराब हुन सक्छ । हामी बलियो प्रत्याशी हौं अथवा होइनौं, थाहा छैन । तर अर्जेन्टिना जहिले पनि उपाधिको दाबेदार भने हो । मेरो विचारमा हामीभन्दा अन्य केही टिम माथि छन् ।’