आफूविरुद्धको अन्यायबारे भीम रावलले दिनभरी सोचेर निर्णय लिने



काठमाडौं ।
नेकपा एमालेका नेता भीम रावलले आज दिनभरी सोचेर आफूविरुद्ध भएको अन्यायबारे निर्णय गर्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ का सर्वसम्मत सिफारिसमा परे पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाएका रावलले आज दिनभर सोचेर निर्णय गर्ने बताएका हुन् ।
दृष्टिन्यूजसँग कुरा गर्दै नेता रावलले भने– ‘म गम्भीर अध्ययनमा छु । गम्भीर भएर सोच्दैछु । म माथि अन्याय भएको छ । बेलुकासम्म सोचेर निर्णय लिनेछु छ ।’
एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल समूहमा रहँदै आएका रावल पार्टी विभाजनका क्रममा १० बुँदे सहमति गर्दै पार्टीमै रहेका नेता हुन् ।
चितवनमा सम्पन्न १० औं महाधिवेशनमा रावल पार्टी अध्यक्षका उम्मेदवार थिए । तर, रावल ओलीसँग पराजित भए ।
१० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुने ओलीको चाहना थियो । तर, रावलले उम्मेदवारी दिएपछि ओलीको त्यो चाहना पूरा भएन । त्यसैको प्रतिशोध साँधेर ओलीले रावललाई टिकट नदिएका हुन् ।
रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ । आज दिनभरमा एमालेका धेरै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।