सेल्टालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा



एजेन्सी ।
सेल्टा डि भिगोमाथि झिनो जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा शीर्षस्थानमा फर्किएको छ ।
सेल्टालाई १–० ले हराएपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना पुनः शीर्षस्थानमा फर्किएको हो । घरेलु मैदान नोउक्याम्पमा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पहिलो हाफमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।
उनले १७औं मिनेटमा पाब्लो गाभीको पासलाई नुनेजले क्लियर गर्न नसकेपछि पेड्रीले बल भेट्दै गरेको प्रहारले जाली चुमेको थियो । त्यसपछि पनि बार्सिलोनाले पाहुना टोलीमाथि दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा पेड्रीले गरेको गोल नै बार्सिलोनालाई ३ अंक जोड्दै शीर्षस्थानमा पुग्न पर्याप्त बन्यो ।
यस जितसँगै अपराजित रहेको बार्सिलोना ८ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान २२ अंक नै रहेपनि अपराजित नै रहेको रियल गोल अन्तरमा बार्सिलोनासँग पछि छ । परािजत सेल्टा १० अंक जोडेर ११औं स्थानमा छ ।
ला लिगामै रियल भाला डोलिड र रियल बेटिसले गोलरहित तथा क्याडिज र स्पान्योलले २–२ गोलको बराबरी खेल्दा रियल सोसिडाडले भिल्ला रियललाई १–० ले पराजित गरेको छ ।