मलेसियाको संसद् विघटन,६० दिनभित्र मध्यावधि निर्वाचन हुने



काठमाडौं ।
मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्।
सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्। टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्।
सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौं । जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ,’ सम्बोधनका क्रममा याकोबले भनेका छन्।
देशमा राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै उनले सरकारको सिफारिसमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाएका छन्।