प्रचण्डविरुद्धको बागी उम्मेदवारी फिर्ता



काठमाडौं ।
गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएका छन् ।
२३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका छन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएका छन् । प्रचण्डविरुद्ध कांग्रेसका नेता भट्टले बागी उम्मेदवार दिएका थिए ।
उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएका छन् । उनले भनेका छन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्ने छु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।